हाम्रो धादिङ

धादिङको उत्तरी सिमानामा गणेश हिमाल मुस्कुराएर उभिएको छ । यसैको काखमा अर्थात अलिक वर फूलखर्कस्थित ढांडखर्कको पहराबाट हाम्फालेका छन दिदीबहिनी झरना– गङगा र जमुना । अलि तल पुगेपछि ‘नेत्रावती‘ बनेर बूढीगण्डकीमा मिसिने ‘आँखु‘ गणेश हिमालबाटै सुरु भएकी छिन्‍ । कति सुन्दर छ धादिङको प्राकृतिक छटा ! सेता हिमाली चुचुराहरू, हरिया त...रेली परेका अनेक जडिबूटी काखमा उमारेका पहाडहरू अनि सल्यानटार, रिचोकटार, परेवाटार, सुकौरा फाँट, ठूलीबेसी, नौबिसे फाँटजस्ता उर्वरभूमि । तिनै उर्भरभूमिलाइ चिस्यान दिँदै काखैबाट बगेका कास्टे, मानपाङ, बगुवा, लपाङ, थोपल, चरङ्गे, गडरे र अरू थुप्रै खोलाहरू ।



रसुवाबाट निस्केर नुवाकोट हुँदै धादिङको पेटबाट बगेर बूढीगण्डकीमा मिसिन हतारिएकी त्रिशुली होउन अथवा पश्चिमी सीमाबाट दक्षिण बगेकी बूढीगण्डकी दुवैको प्रेम छ धादिङको मुटुमा र माटामा । उत्तरमा तिब्बत, पूर्वमा नुवाकोट र काठमाडौं, दक्षिणमा मकवानपुर र चितवनका सिमानामा उठेको महाभारत पर्वतमाला अनि पश्चिममा गोरखा जिल्ला छुट्‍याउने बूढीगण्डकी नदी धादिङका चार सिमाना हुन्‍ । धादिङको भूगोलको वयान यो छोटो परिचयमा दिएर सकिँदैन । प्राकृतिक विविधताले सुरम्य बनेको धादिङको एतिहासिक र सांस्कृतिक गरिमा त्यतिकै माथि छ ।



पौराणिक कालमा दैत्यराज हिरण्यकशिपुको दानवी व्यवहारको अन्त गर्न भगवान विष्णुले नृसिंहावतार लिनुभएको मानिने स्थान धादिङ जिल्लाको उत्तरपश्चिममा पर्ने आगिञ्चोक हो भन्दा कतिलार्इ आश्चर्य लाग्न सक्छ । आप्‍नै छोरा प्रह्लाद भगवान विष्णुको भक्त बनेकोमा उग्र भएको हिरण्यकशिपुले छोरालार्इ जलार्इ मार्ने योजना गर्दै आगो बाल्न बनाएको अग्निचोक नै अपभ्रंश भएर आगिन्चोक भएको भन्ने जनश्रुति छ ।



भगीरथ राजाले तपस्या गरी पुर्खा उद्धारका लागि प्राप्त गरेको गङ्गाको बेग महादेवले शिरमा थामेर एक धारा खसाएको ठाउँ भनेर हाम्रै धादिङको गङ्गाजमुनालाइ मानिन्छ । करीब १६ सय वर्षअघि उपत्यकामा लिच्छविशासन रहँदा सल्यानटारमा पनि विकसित शहर बनेको तथ्य त्यहाँका हाल अवशेष्का रूपमा भेटिएका इँटाहरूबाट पुष्टि भइसकेको छ । साढे चारसय वर्षअघि थुप्रै राज्यहरू भएको धादिङ जिल्लामा अभै पनि ती राज्यका भग्नावशेष्हरू यत्रतत्र देखिन्छन्‍ ।



इतिहास केलाउँदा गोरखाका शाहवंशीय राजा रामशाह र उनका सन्तति आधुनिक नेपालका निर्माता पृथ्वीनारायण् शाहले सल्यानकोटकी त्रिपुरसुन्दरी भगवतीको आराधना गरेको तथ्य इतिहासमा लेखिएको छ । सल्यानकोटकी त्रिपुरसुन्दरी भगवती, सुनौलाबजारकी भैरवी, ज्यामरुङकी ज्वालामुखी र शंखादेवी, ढोलाकी मण्डली, फूलखर्ककी गङ्गाजमुना, आगिञ्चोककी जलेश्वरीलगायत अनेकन शक्तिपीठ, सल्यानटारका दुग्धेश्वर महादेवलगायतका शिवमन्दिरसमेतले धादिङका विविधतामा थप आकर्षण प्रस्तुत गरेका मात्र छैनन्‍, तमाम धादिङबासीलार्इ एकतामा आवद्ध पारेका छन्‍ ।



माथि तामाङ, बीचमा गुरुङ अनि दक्षिणमा चेपाङ, धादिङको जातीय विविधताको अर्को नमुना हो । अनेकन थरमा विभाजित बाहुनक्ष्त्री, मगर, नेवार, दमाइं, सार्की, कामीजस्ता जातजातिले धादिङलार्इ प्रकृतिले जस्तै विविधतायुक्त बनाएका छन्‍ । यिनैले हो रोधी, घाँटु, सोरठी, तामाङसेलो, बालन, भजन, भैलो, ख्यालीजस्ता सांस्कृतिक चालचलनलार्इ जीवन्त राखेको ।



यही पृष्ठभूमिमा जन्मेका धादिङको स्वादिलो, पोषिलो, रसिलो अन्नपानी अनि फलफूल र हावा खाएर हुरकेका धादिङका सन्ततिले नेपाली भाषाको गोर्खाली स्वरूपको जन्म हुनुअघिदेखि नै संस्कृतसाहित्यमा कलम चलाउँदै आएका छन् । इतिहास साक्षी छ, भानुभक्त आदिकवि हुन्‍, उनीअघिदेखि यहाँ संस्कृतको अध्ययन अध्यापन हुन्थ्यो, हाम्रा साहित्यिक अग्रज मनीषीहरू कुनै आत्मप्रचार नगरी सल्लेडाँडाको चिसो हावासितै रम्दै कल्पनाको गगनमा कावा खाँदै साहित्यरचना गरथे । तिनका आँखा लमतन्न सुतेको सल्यानटार, कुलुलु बगेका बूढीगण्डकी र नेत्रावतीको प्रवाह अनि टलल टल्केको गणश र मनास्लु हिमालका दृश्यतिर लम्किन्थे र मस्तिष्कमा सिर्जनाको बतास मडारिन्थ्यो ।

Reviews:

Post a Comment

slmsc © 2014 - Designed by Templateism.com, Plugins By MyBloggerLab.com | Published By Gooyaabi Templates

Contact us

Powered by Blogger.